KNOW SHIVA


नित्य, विज्ञानानन्दघन परमात्मा जो जागृत, स्वप्न र सुषुप्ति तीनै अवस्थाभन्दा पर सर्वदृश्य विवर्जित, स्वप्रकाश हुनुहुन्छ उहाँ नै भगवान् शिव हुनहुन्छ ।

जीवहरू अनन्तानन्त पाप-ताप आदि समस्त प्रकारका त्रितापद्वारा सन्तप्त भई जसको परम आश्रय खोजी, परम विश्राम गरी सदासदाका लागि शयन अर्थात् विश्राम गर्दछन् उनै सर्वाधिष्ठान सर्वाश्रय नै भगवान् शिव हुनुहुन्छ ।

हाम्रा ऋषिमुनि एवं शास्त्रानुसार शिव तत्त्वका तीन अवस्थाको वर्णन पाइन्छ । अरूप अर्थात निराकार, रूप अर्थात् निराकार आकार र सरूप अर्थात् साकार ।

निराकार स्वरूपको वर्णन गर्दै उल्लेख पाइन्छ कि “साक्षी चेता केवलो निर्गुणश्च” सहभागितारहित केवल साक्षीरूपमा, चेतना रूपमा कुनै गुण, धर्मविहीन व्याप्त तत्त्व नै शिवतत्त्व हो अर्थात् निराकार (आकाररहित), निरूप (रूपरहित), निरामय(अकल्पनीय), निर्गुण (गुणधर्मरहित), निर्विशेष (विशेषतारहित) चैतन्य तत्त्व नै शिव हुनुहुन्छ ।

निराकाररूपमा व्याप्त चैतन्य तत्त्व साकाररूपमा व्यक्त हुँदाको अवस्थालाई रूप अरूप भनी व्याख्या गरिएको पाइन्छ

‘न असत् आसित् नो सत् आसीत् तदानीम् ।’

अर्थात्, त्यस अवस्थामा न सत् थियो न असत् नै अर्थात् न कोही कुनैको अस्तित्त्व नै थियो न त अस्तित्त्वहीनता नै । अर्को हो सरूप अर्थात् साकार (आकारसहित) अस्तित्त्व नै सरूप हो यस अवस्थाका आठ अभिव्यक्तिहरूको उल्लेख पाइन्छ ।

१. भव – जसको अस्तित्त्व छ ।
२. सर्व – जो शुभ हुनुहुन्छ ।
३. इशान – जो नियन्त्रण कर्ता हुनुहुन्छ ।
४. पशुपति -जो समस्त जीवहरूका स्वामी (नाथ) हुनुहुन्छ ।
५. रुद्र – भव्य र उत्कृष्ट हुनुहुन्छ ।
६. उग्र – जो भयानक हुनुहुन्छ।
७. भीम – जो बलवान हुनुहुन्छ ।
८. महत् – जो सर्वव्यापि हुनुहुन्छ ।

भगवान् शिव साकार तथा निराकार हररूपमा रहेर कणकणमा विविधरूपमा व्याप्त हुनुहुन्छ । यी सबै तीन स्वरूपको तात्पर्य पनि यही नै हो । यही कुरालाई शास्त्रहरूमा निम्नानुसार पनि व्याख्या गरिएको पाइन्छ ।

‘शिवम् शान्तम् अद्वैतम् चतुर्थकम्
मन्यन्ते स आत्म स विज्ञेय ||

अर्थात् यो अवस्था जो जाग्ने, सपना देख्ने र सुत्ने अवस्थाभन्दा पर हुनुहुन्छ किन्तु ती सबै अवस्थामा पनि व्याप्त हुनुहुन्छ । उहाँ नै शिव तत्त्व हुनुहुन्छ उहाँ नै जान्न योग्य हुनुहुन्छ ।

शिव तत्त्व कुनै व्याख्या या विवेचनाको विषय पनि होइन । ती सब हामीजस्ता सामान्य मनुष्यको वशको कुरा पनि होइन । यो त चिन्तनको विषय हो । आत्मासात्‌को विषय हो । स्वयंभित्र उहाँलाई देख्ने अनुभूत गरी जीवनलाई सार्थकतातिर उन्मुख गर्ने विषय हो । मात्र यसैको प्रयास नै यस लेखको आशय हो ।

नटराज शिवका पाउ मुनिको बालक अपस्मार असुरको प्रतिकरूप हो। ‘अपस्मार जसको तात्पर्य हुन्छ अ अर्थात दम्भ। जीवनमा परमानन्द बोधको लागि बाधक तत्त्व, आध्यात्मिक उच्चताको बाधक, ध्यान समाधिका मार्गको बाधक तत्व भनेको नै दम्भ अर्थात् अहङ्कार हो । यसको शमनविना यी सबको प्राप्ति असम्भव छ ।

मानव जीवन यति बहुमूल्य छ कि जीवन र मृत्युका बीचमा ज्ञान र अज्ञानताका बीचमा केवल रौं बराबर मात्र दूरी छ । त्यसैले जीवनलाई सार्थकता प्रदान गर्न उसमा केवल थोरै चेतनाको, सतर्कताको अनि जीवन मूल्यको बोधको आवश्यकता छ ।

यसै जीवनमा व्यक्तिले जीवन मूल्यको बोध गरी एक कदम अज्ञानताबाट ज्ञानको प्रकाशतर्फ, चैतन्यतातर्फ अग्रसर भयो भने ऊ नै देवता बन्दछ । एक कदम पछाडि अर्थात् अज्ञानतातर्फ हटायो भने पशु बन्दछ । यही नै शिव तत्त्वको रहस्य हो । शिव उपासनाको रहस्य हो ।

त्यागले, चैतन्यताले देवता बन्दछ । वासनाले, अज्ञानताले पशुत्त्वतर्फ अग्रसर भई बारम्बार भवसागररूपी गर्तमा गोता लगाइरहन्छ । समस्त कर्महरूको जन्मदाता नै अज्ञानता हो, ज्ञानले कर्महरूको नाश गर्दछ । अज्ञानताको नाश हुने बित्तिकै कर्महरूको आधारशीला टुट्दछ तब उसले पशुत्त्वदेखि मुक्ति प्राप्ति गर्दछ ।

अज्ञानता नै समस्त कर्मका बन्धनहरूको आधारशीला हो । ईश्वरीय तत्त्वको, शिव तत्त्वको, स्वतत्त्वको स्मरण नै, वास्तवमा ज्ञान हो र यी तत्त्वको विस्मृति नै अज्ञानता हो । त्यसैले ज्ञान नै अमृत हो, मुक्ति हो, शिवत्त्व प्राप्ति हो ।

परमतत्त्व परब्रह्म भगवान् शिव लीलास्वरूपमा विभक्त भई ब्रह्मा, विष्णु अनि महेश्वरका रूपमा सृजन, पालन एवं संहार गर्नुहुन्छ । मानव जीवनका पनि तीन आयाम हुन्छन्- जन्म, जीवन अनि मृत्यु । हिन्दु धर्ममा यी तीन स्वरूपमध्ये सर्वाधिक महत्त्वका साथ व्याख्या उनै संहारकर्ता महेश्वर अर्थात् भगवान् शिवकै गरिएको पाइन्छ ।

मन्दिर, देवालय र शिवलिङ्गको रूपमा पनि भगवान् शिवको नै रहेको पाइन्छ। किनकि भगवान् शिव मृत्युका देवता हुनुहुन्छ, मुक्तिका देवता हुनुहुन्छ । मानव जीवनको आकाङ्क्षा र सार्थकता पनि यही नै हो कि उसलाई भगवान् आशुतोषको कृपा, अनुकम्पाद्वारा यसै जीवनमा नै सार्थकता प्राप्त होस् । मुक्ति मिलोस् ।

पुनः यस जन्म र मृत्यको गर्तमा बारम्बार गोता लगाई रहन नपरोस् । जबसम्म जीवनमा मृत्युको बोध हुँदैन तबसम्म जीवनमा क्रान्ति सम्भव छैन्, परिवर्तन सम्भव छैन । ज्ञानको, चैतन्यताको बोध सम्भव छैन । जीवनको पनि सार्थकता प्राप्ति सम्भव छैन र पशुत्त्वको तिरोहिता पनि सम्भव छैन । जीवनको यही सार्थकताको बोध, चैतन्यताको बोध, मृत्युको बोध, पशुत्वको पाशबाट मुक्ति प्रदान गर्ने मुक्तिदाता हुनुहुन्छ भगवान् पशुपतिनाथ ।

अन्य जीवजन्तुमा न त मृत्युको बोध हुन्छ न त त्यो सम्बन्धि चेतना नै । मरेपछि पनि त्यो चेतना नहुने हुनाले मानव जीवनमा मात्र प्राप्त त्यो दिव्यतालाई चैतन्यतालाई जीवन छँदै बोध गर्नु पर्दछ । उनै भोलेनाथको कृपा प्राप्त गरी त्यो पशुत्त्वभन्दा माथि चैतन्यतातर्फको मार्गमा उन्मुख हुन सक्नु नै मानव जन्मको रहस्य हो, शिव उपासनाको रहस्य हो ।

सनातन हिन्दु धर्मको विशेषता यही नै हो कि हिन्दु धर्मावलम्बीहरू भगवान् शिवको साकार र निराकार दुवै रूपमा उपासना गर्दछन् । उहाँ विश्व ब्रह्माण्डका सृष्टिकर्ता,पालनकर्ता एवं संहारकर्ताका रूपमा साकार एवं निराकार दुवैरूपमा व्याप्त हुनुहुन्छ ।

निराकार रूपमा विराट् ज्योतिपुञ्जका रूपमा अनि प्रत्येक जीव जीवात्मामा अंश रूपमा पनि उनै शिवतत्त्व निवास गर्नुहुन्छ । आफ्ना गण, माता पार्वती एवं गणेशका साथ कैलाश पर्वतका नीलअम्बर तल प्राकृतिक हिमशैलमा निवास गर्ने अजन्मा पनि उनै शिव हुनुहुन्छ । उहाँको स्वरूपको वर्णन शास्त्रहरूमा निम्ननुसार वर्णन गरिएको पाइन्छ ।

धवलवपुषमिन्दोर्मण्डले संनिविष्टं
भुजगवलयहारं भस्मदिग्धाङ्गभीशम्
हरिण परशुपाणिं चारु चन्द्रार्धमौलिं
हृदय कमलमध्ये सततं चिन्तयामि ॥

अर्थात्, चन्द्रमण्डलसमान विराजमान् भगवान् शिव जसको देह गौरवर्ण रहेको छ । नागका कंगन एवं नागकै आभूषणद्वारा सुशोभित, शरीरमा भष्मलेपन भुजाहरूमा मुद्रा एवं परशु सुशोभित छन् । अर्धचन्द्र शिरमाथि सुशोभित भगवान् शिव शङ्करलाई म हृदयमा अहर्निश चिन्तन गर्दछु ।

‘भगवान् शिवका दिव्य स्वरूपहरूको निदान विद्याअनुरूप निम्नानुसार अर्थ निरूपण गरिएको पाइन्छ । उहाँको शिरमाथि सुशोभित अर्धचन्द्र शान्ति र अमृतको द्योतक हो अर्थात् उहाँको उपासना, आराधनाद्वारा परम शान्तिको अनुभूति सम्भव छ । जन्म र मृत्युको चक्रबाट मुक्ति सम्भव छ ।

घना जटालाई सर्वव्यापकताको द्योतक मानिन्छ अर्थात् उहाँ सर्वव्यापी हुनुहुन्छ । जटास्थित गङ्गा कलुषितता विनाश अर्थात् पवित्रताको द्योतक हो । गलामा बेरिएको नाग कालमाथि विजयको प्रतीक अर्थात् महामृत्युञ्जय स्वरूपको द्योतक हो । विविध आयुधमध्ये त्रिशूल दैहिक, दैविक र भौतिक ताप सन्तापहरूको विनाशको द्योतक एवं सात्त्विक, राजसिक र तामसिक गुणहरूमाथिको विजयको द्योतक हो । डमरु ब्रह्म नादको द्योतक हो भने कमण्डलु समस्त ब्रह्माण्डको एकिकृत रूपको द्योतक हो । शरीरमा लेपन गरिएको भष्म संसारका समस्त चीजहरूको नश्वरताको द्योतक हो ।

जब साधकमा समस्त चीज एवं देहको समेत नश्वरताको बोध हुन्छ तब मात्र उसले स्वतत्त्वको बोध गर्न सक्दछ । उहाँको वाहन नन्दी धर्मको द्योतक मानिन्छ । सदा धर्ममाथि आरुढ हुन सक्नु नै जीव ( मनुष्य ) को वास्तविक स्वरूप हो । त्यस्तै शरीरमा धारण गर्नुभएको व्याघ्रचर्म मनको चञ्चलतामाथि दमनको प्रतीक हो । मनको चञ्चलतालाई दमन नगरी कसैले पनि स्वतत्त्वको बोध गर्न सक्दैन । जहाँ जहाँ मन पुग्दछ त्यहाँ त्यहाँ भगवान् शिव तत्त्वको बोध हुन सक्नु नै यसको रहस्य हो । विज्ञान भैरव तन्त्रमा पनि भगवान् शिवको साक्षात्कारको रहस्य यसरी पनि बताउन खोजिएको पाइन्छ ।

यत्र यत्र मनोयति आहे
वाम्मान्तरे पी वः
तत्र तत्र शिव यस्यति
व्यापकाथकवा मसैति ॥

अर्थात् जहाँ जहाँ मन पुग्छ भगवान् शिव पहिले नै त्यहाँ विद्यमान हुनुहुन्छ, कुनै त्यस्तो स्थान छैन जहाँ भगवान् शिव विद्यमान हुनुहुन्न ।

वास्तवमा यस श्लोकको तात्पर्य प्रत्येक चेतन अचेतन वस्तुमा अनि प्रत्येक जीव जीवात्मालगायत कणकणमा शिवतत्त्व व्याप्त छ । भगवान् शिवको अस्तित्त्व विद्यमान रहेको छ ।

यसमा कुनै सन्देह छैन तर कुनै पनि साधकले यस श्लोकको तात्पर्य त्यसबेला बोध गर्दछ जब उसले यस श्लोकको अर्थलाई वास्तविकरूपमा स्वयंले अनुभूति गर्दछ । प्रत्येक कणकणमा, पलपलमा मन जहाँ जहाँ पुग्छ त्यहाँ त्यहाँ शिव तत्त्वको अनुभूति गर्नु पर्दछ । यही नै वास्तवमा शिवतत्त्वको रहस्य हो, शिव तत्त्व प्राप्ति हो, मनुष्य जीवनको सार्थकता हो ।

सृजन, पालन एवं संहार कर्ता परब्रह्मले यस चराचर जगत्‌को सृजन, पालन, संहार एवं नियन्त्रण यस विश्व ब्रह्माण्डको कुनै दूर स्थानमा वा कुनै मन्दिरमा बसेर गर्नु भएको छैन, टि.भि. को रिमोट थिचे जसरी । उहाँ त यस सृष्टिमा समस्तरूपमा व्याप्त भई जीव जीवात्मामा आत्मा रूपमा स्थित भई गरिरहनु भएको छ, यही नै शिवतत्त्वको रहस्य हो । यसैको बोध र अनुभूति नै उहाँको वास्तविक आराधना र उपासना हो । आचार्य अभिनव गुप्ताका अनुसार पनि समस्त जीवहरूमा व्याप्त अस्तित्त्वको स्वभाव नै शिवतत्त्व हो ।

भगवान् शिव विविध रूपहरूमा प्राकाट्य भई व्याप्त भई यस चराचर जगत्को सृजन, पालन एवं संहार गर्नुहुन्छ, जीवहरूको उद्धार गर्नुहुन्छ, मुक्ति प्रदान गर्नुहुन्छ । उहाँको विविध स्वरूपहरूमध्ये पशुपतिनाथ स्वरूपमा उहाँ पशुरूपमा बाँचिरहेका जीवहरूलाई पशुपाशबाट (अज्ञानताबाट) मुक्ति दिलाउनुहुन्छ ।

त्यस्तै अर्को सर्वाधिक महत्त्वपूर्ण र दिव्य अलौकिक स्वरूप हो नटराज स्वरूप । भगवान् शिवको नृत्य सृष्टि एवं विनाशको स्पन्दित प्रक्रिया हो, ब्रह्माण्डको क्रियाशीलताको द्योतक हो अनि ऊर्जाको निरन्तर प्रवाहको द्योतक हो । सार्वभौमिक ब्रह्माण्डीय शक्ति एवं उर्जा नै नृत्यको प्रतीक हो ।

नाट्येश्वर शिव एक बालकमाथि भई एक पाउले सन्तुलन बनाई नृत्यरत हुनुहुन्छ । यो स्वरूप कला ब्रह्माण्ड र परमतत्त्वको सन्तुलित स्वरूप हो। जसको तात्पर्य हुन्छ जीवनमा नृत्यमय बन्नको लागि, नृत्यको परमानन्दको अनुभूति प्राप्तिको लागि भौतिकता एवं आध्यात्मिकता बीचको सन्तुलन आवश्यक छ ।

मन र आत्मा बीच समन्वय र सन्तुलन अपरिहार्य हुन्छ । सांसारिकतामा नै रहेर, गृहस्थ बनेर नै पनि परमानन्द परमतत्व को बोध सम्भव छ, केवल निर्लिप्त भावमा आशक्तिलाई पूर्णरूपले त्यागेर सन्तुलित बनेर आनन्दको अनुभूति गर्नु नै यस शिव नृत्यको रहस्य हो ।

नटराज शिवका पाउ मुनिको बालक अपस्मार असुरको प्रतिकरूप हो। ‘अपस्मार जसको तात्पर्य हुन्छ अ अर्थात दम्भ। जीवनमा परमानन्द बोधको लागि बाधक तत्त्व, आध्यात्मिक उच्चताको बाधक, ध्यान समाधिका मार्गको बाधक तत्व भनेको नै दम्भ अर्थात् अहङ्कार हो । यसको शमनविना यी सबको प्राप्ति असम्भव छ ।

आध्यात्मिक सोपानको पहिलो खुडकिलो नै अहंको तिरोहित हो । फेरि मानवले प्राप्त गरेको हर प्रकारको सफलता अनि त्यसको उचाइ विशाल सृष्टिचक्रमा धूलो रकम बराबर हुन्छ। ईश्वरीय इच्छा नै पूर्णता हो। ईश्वरीय इच्छामा नै ती उत्पन्न हुन्छन् अनि विलीन पनि । यही नै यस स्वरूपको तात्पर्य हो ।

अहङ्कारलाई भगवानको चरणमा विसर्जन नगरेसम्म पूर्ण रुपले समर्पित भई स्वयंलाई उहाँकै चरणमा विसर्जित नगरेसम्म जीवनको उल्लास र नृत्यको रसास्वादन गर्न सकिँदैन यही नै भगवानको नटराज स्वरूपको रहस्य हो ।

भगवान् शिवको ध्यानमग्न स्वरूपको तात्पर्य पनि यही नै हो कि सदा स्वतत्वको चिन्तन गर । स्वतत्त्वमा स्थिर बन अनि जीवनका प्रत्येक आरोह अवरोहलाई साक्षी भावले हेर । बोध गर तब मात्र परमानन्द परमतत्वता आफुमा सदासदाका लागि स्थिर गराउन सकिन्छ।

दुःख होस् वा सुख दुवैमा थोरै टाढा बस न त धेरै नजिक न त धेरै टाढा । ऐनामा स्वयंको प्रतिविम्ब हेरेजसरी न त टाढा हुदा प्रतिविम्य सकिन्छ न त ऐनामा नै अनुहार जोडिँदा । त्यसैले साक्षीमाव, द्रष्ट्राभाव बन्न सक्नु स्वयंभित्रको सदा आनन्दमयी स्वरूपमा स्वतत्त्वमा रहनु नै यस ध्यानमग्न स्वरूपको तात्पर्य हो ।

KING YT

© All post,blogs,stories,etc. written/posted here is the property of KING YT

No comments:

Post a Comment